सरकार गलत बाटोमा छैनः पर्यटनमन्त्री
तनहुँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा नरहेको जिकिर गरेका हुन्।

मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भने, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ।” उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको संज्ञा दिँदै उनको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताए। “बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरू थिए, हावाहुरी पनि चलेको थियो”, मन्त्री भट्टराईले भने, “बैठकले ती बादलहरू सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ।”

केन्द्रीय कमिटी बैठकले तीनमहीने अभियान घोषणा गरेको जानकारी गराउँदै उनले उक्त अभियानमा सबै नेताहरू गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताए। सो अभियानमार्फत् पार्टीभित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईकाे भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्