प्रदेश २: दुई वर्षमा पनि टुंगिएन नाम र राजधानी

धनुषा। प्रदेश २ मा प्रदेश सभा गठन भएको दुई वर्ष बित्यो। आज प्रदेश सभाको दोस्रो वार्षिकोत्सवसमेत मनाइयो।

तर, दुई वर्ष बित्दासमेत प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो भने लगाएको छैन।

नाम र राजधानीको नामबारे गठित समितिले जनकपुरधाममा स्थायी राजधानी बनाउने एक किसिमको सहमति जुटेको छ। तर, त्यो प्रदेश सभाबाट पारित हुन बाँकी छ।

त्यस्तै नामबारे पनि छलफल जारी छ। त्यसमा सहमति भने भइसकेको छैन।

यस्तै यो दुई वर्षमा ४४ वटा विधेयक दर्ता हुँदा २३ वटा विधेयक पारित भएको छ।

पहिलो वर्षमा २७ मध्ये १६ वटा विधेयक पास भएर प्रमाणीकरण भए। दोस्रो वर्षमा संशोधनसहित १९ वटा विधेयक दर्ता गराए पनि सातवटा विधेयक मात्र पास भएर प्रमाणीकरण भएको छ।

दोस्रो वर्षमा दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक सडक निर्माण सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६ पारित भएको छ।

यस्तै प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि पारित भएको छ।

समृद्धि र विकास प्रदेशको साझा संकल्पः मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकास प्रदेशको साझा संकल्प रहेको बताएका छन्।

प्रदेश सभाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सभामा रहेका सत्तापक्ष र प्रतिपक्ष सबैको साझा भूमिका रहेको बताएका हुन्।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको कमी कमजोरी सुधार गर्दै लैजाने र यसमा मन्त्रीहरूलाई अगाडि बढ्न निर्देशनसमेत दिए।

प्रतिक्रिया दिनुहोस्