मुद्दा चल्ने थाहा पाएपछि दिनभर गच्छदारको बालुवाटार र बूढानीलकण्ठ दौडधुप
काठमाडौं। अख्तियारले मुद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार २२ माघमा दौडधुपमा थिए।

बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २२ माघ बिहान गच्छदारले प्रधानमन्त्रीलाई भेटेपछि सभापति देउवालाई पनि भेटेको जानकारी दिए।

अख्तियारको मुद्दाकै प्रसंगमा यो भेट भएको हुन सक्ने शर्माको भनाइ छ। त्यसो त गच्छदारले अपराह्न पनि देउवालाई भेटेका थिए।

गच्छदारको सचिवालयका अनुसार उनी अपराह्न ४ देखि ६ बजेसम्म पुनः देउवानिवास बूढानीलकण्ठमा भएको समााचार आजको नयाँ पत्रिका दैनिकमा छ।

बालुवाटार जग्गा प्रकरणमा २२ माघमा गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले उनीसँगै १७५ जनाविरुद्ध मुद्दा चलाएको हो।

गच्छदारलाई मुद्दा लागेपछि कुनै समयको प्रभावशाली समूह ‘केजिबी’ अख्तियारको पकडमा परेको छ।

२०४८ सालपछि खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारलाई ‘केजिबी’ समूहका रूपमा चिनिन्थ्यो र यो समूह कांग्रेसमा प्रभावशाली मानिन्थ्यो।

अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराजको मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ।

योसँगै उनको सांसद पद निलम्बन भएको छ। २०४८ यता १२ पटक मन्त्री भएका गच्छदारविरुद्धको यो मुद्दा साबित भएमा १३ वर्षसम्म जेल बस्नुपर्नेछ।

१९ माघ २०१० मा सुनसरीमा जन्मिएका उनले २०२६ सालबाट कांग्रेसको राजनीति शुरु गरेका थिए।

कांग्रेसबाटै पटकपटक मन्त्री हुने मौका पाएका उनी २०६४ मा कांग्रेस छोडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए।

२०७४ असोजमा कांग्रेस प्रवेश गरेका गच्छदार एक वर्षपछि उपसभापतिमा मनोनीत भए । उनी कांग्रेस संसदीय दलका उपनेता पनि हुन् । २०७४ मा भएको निर्वाचनमा उनी सुनसरी ३ बाट निर्वाचित भएका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्