दाहालले भने- 'मध्यम वर्गको हितमा काम हुन सकेन'

काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मध्यम वर्गका लागि आफूहरूले उल्लेख्य काम गर्न नसकेको बताएका छन्। मध्यमवर्गकै सहयोगमा नेकपाले चुनावमा जिते पनि उनीहरूको हितमा काम गर्न नसकेको अध्यक्ष दाहालको भनाई छ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको एकताको प्रथम बैठकलाई सम्बोधन गर्दै दाहालले मध्यमवर्गलाई साथमा लिन नसके त्यसले नकारात्मक नतिजा निम्त्याउन सक्ने बताए।

''नेपालमा प्राय सबै निर्वाचनमा कुनै पार्टी विशेषलाई जिताउने वा हराउने मध्यम वर्गले नै हो। निम्न मध्यम र मध्यम वर्ग जता जान्छ उसैको जित हुन्छ। यो पटक पनि मध्यम वर्गले भरोसा गरेर हामी विजयी भयौं। सर्वहाराले त हामीलाई सहयोग गरिहाल्छन्। मध्यम वर्गले कहिले गर्छ कहिले गर्दैन'', २०६४ साल यताका चुनावको नतिजा स्मरण गर्दै दाहालले अगाडि भने, ''हामीले के मध्यम वर्गको कुरा सुन्यौं त ?उनीहरूलाई दिने सेवा-सुविधाबारे सकारात्मक पहलकदमी लियौं त ? गम्भीर भएर समीक्षा गर्नुपर्ने अवस्था आएको छ।''

दाहालले आफूहरुले (नेकपा सरकारले) गरिरहेका काम सर्वहारा र मध्यम वर्गका लागि नभई नोकरशाही दलाल, पूँजीपति वर्गको हितमा त भइरहेको छैन भन्ने प्रश्न गर्दै गम्भीर समीक्षाको खाँचो औंल्याए।

''हामीलाई जनसमर्थन त प्राप्त छ। संविधानमा पनि समानताको कुरा गरेका छौं। तर त्यसका लागि आवश्यक नीति एवम् कानून कति बनायौ ? हिजोको प्रक्रियाबाट नयाँ प्रक्रियामा जान के गर्‍यौं त ? यसबारे गम्भीरतापूर्वक विचार गर्दै राज्यमाथि मध्यम वर्गको हस्तक्षेप बढाउनेतिर ध्यायान पुग्नु जरूरी छ'' दाहालले भने।

दाहालले सरकारले लिएको कर नीति मध्यम वर्गको विरूद्धमा भएको आभाष भइरहेको समेत बताए। उनले कर नीतिबारे समीक्षा गरी आवश्यक परे त्यसमा परिमार्जन गरिनुपर्ने पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्