कांग्रेस नेता सिंहकाे आरोप- 'सरकार राजनीतिकरूपमा पूर्वाग्रही भयाे'

चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनीतिकरूपमा पूर्वाग्रही भएको आरोप लगाएका छन्।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए।

“मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ”, सिंहले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भयो र जग्गा हुनेलाई कारबाही गर्न डरायो।”

तत्कालीन मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतिकै दोषी भएकाे उनकाे भनाइ छ। उनीहरूलाई पनि कारबाही हुनुपर्ने कांग्रेसकाे माग रहेकाे सिंहले बताए।

नेता सिंहले यसैका लागि कांग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनैतिक आग्रहपूर्वाग्रहबिना नै स्वतन्त्ररूपमा छानबिन गर्नुपर्नेमा जोड दिए।

फरक प्रसङ्गमा उनले कांग्रेसले १४औं महाधिवेशनका लागि तयारी शुरू गरेको बताए। महाधिवेशनको मिति तय भइसकेको अवस्थामा यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएर अघि बढेको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्