डाेटीमा म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट
<p>बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करिब पाँच लाख रूपैयाँ बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो। दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो। त्यस्तै यहाँका सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।</p>
<p>त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहेका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपीडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको अनुगमन टोलीले जनाएको छ। पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट करिब आठ लाख रूपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथै केही म्याद नाघेका औषधि फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।</p>
<p>अखाद्य वस्तुलाई कानूनी प्रक्रियाअनुसार नष्ट गरिएको छ। म्याद गुज्रेको अखाद्य वस्तु एमएस सप्लायर्स, कोटभैरव जनरल स्टोर, सुबिन ट्रेडर्स, घटाल सप्लायर्स, कलेल ट्रेडर्स एण्ड सप्लायर्सबाट भेटिएको टोलीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्