प्रधानमन्त्रीले गरे योजना बैंककाे उद्घाटन, अब याेजना बैंकमा दर्ता भएका आयाेजनालाई मात्रै बजेट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘योजना बैंक’को उद्घाटन गरेका छन्। राष्ट्रिय योजना आयोगले योजना बैंक शुरू गरी बैंकमा राखिएको आयोजनालाई मात्रै बजेट समावेश गर्ने तयारी गरेको छ। योजना बैंक राष्ट्रिय योजना आयोग अन्तर्गत रहने व्यवस्था छ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकको क्रममा प्रधानमन्त्रीले योजना बैंकको औपचारिक शुभारम्भ गरेका हुन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनले योजना बैंकको व्यवस्था गरेको छ।

बैठकलाई छाेटाे सम्बाेधन गरेका प्रधानमन्त्रीले साेचे अनुसार विकास गति अघि बढ्न नसकेकाे बताए। आयाेजना कार्यान्वयनकाे गति सुस्त भएकाे, विकास खर्च हुन नसकेकाे प्रधानमन्त्रीकाे भनाइ थियाे। “उपलब्धि हुँदै नभएको होइन तर, सन्तोषजनक छैन”, प्रधानमन्त्री ओलीले भने।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पाेखरेलले बाँकी सम्बाेधन गर्ने भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए।

“कानूनले बाध्यकारी व्यवस्था गरेको थियो। सबै तयारी पनि पूरा भएको थियो। राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकको क्रममा बैकको उद्घाटन भएको हो”, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले देखापढीलाई बताए।

राष्ट्रिय योजना आयोगले निर्देशिकामार्फत आयोजना पहिचान, कार्यान्वय र अनुगमनको प्रभावकारी व्यवस्था गरेको पौडेलले जानकारी दिए।

योजना बैंकमा आएका योजनालाई प्राथमिकताक्रम निर्धारण गरी बजेटमा समावेश गर्ने उनले बताए। योजना बैंकको सूचना व्यवस्थापन प्रणाली निर्माण गरेर सबै मन्त्रालय र सम्बन्धित निकायलाई उक्त बैंकको युजर नेम र पासवर्ड दिइएको पौडेलले जानकारी दिए।

बजेटमा योजना समावेश गर्न चाहने सबैले योजना बैंकमा योजना समावेश गराउनुपर्छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि योजना बैंकमा पेश गर्नुपर्ने प्रावधान बनाइएको छ।

योजना बैंकको कार्यान्वयन पछि मन्त्री वा नेतालाई दबाब वा प्रभावमा पारेर बजेटमा आयोजना समावेश हुने परम्पराको अन्त्य हुने आशा गरिएको छ।

योजना बैंकको सूचना व्यवस्थापन प्रणालीमा भने अहिले सरकारी निकायको मात्रै पहुँच छ। योजना बैंकमा समावेश भएका आयोजना सर्वसाधारणले भने हेर्न सक्दैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्