स्वास्थ्य मन्त्रालयले भन्यो- ‘कोरोना संक्रमितको उपचार गर्न १४७ बेड तयारी अवस्थामा छ’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोबेल कोरोना भाइरस संक्रमितको उपचारका लागि १४७ बेडहरू तयारी अवस्थामा राखिएको जनाएको छ।

मन्त्रालयका स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहाललका अनुसार उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ।

“नोबेल कोरोना भाइरसको लक्षण फेला परेमा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ललितपुरको पाटन अस्पतालमा लगिनेछ” उनले भने, “त्यसपछि उपत्यकामा रहेका ६ वटा हब अस्पताल र अन्य स्याटेलाइट अस्पतालमा व्यवस्था गरिनेछ।”

यसका लागि भोलि, २८ माघमा छलफलका लागि बोलाइएको समेत उनले जानकारी दिए।

चीनबाट ल्याउने विद्यार्थीहरूका लागि विशेष प्रोटोकल बनाएर सुरक्षितरूपमा राख्न लागिएको मन्त्रालयले जनाएको छ। त्यसका लागि आज इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरूलाई विशेष तालिम दिएको छ।

चीनबाट ल्याइएका विद्यार्थीहरूलाई राखिने क्वारेन्टाइनमा खटाइने स्वास्थ्यकर्मीहरू, कर्मचारीहरू, एम्बुलेन्सका कर्मचारी, एअरपोर्टमा रहने कर्मचारी, जहाजमा रहने कर्मचारी सबैलाई अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिइएको मन्त्रालयको भनाइ छ।

त्यस्तै काठमाडौं उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल महाराजगंज, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल हब अस्पताल हुन् भने टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताल स्याटेलाइट अस्पताल हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्