चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा जहाज पठाइँदै
काठमाडौं। चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ।

एयरबस ३३०-२०० सिरिजको २७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो।

मन्त्रिपरिषद्को २७ माघको बैठकले नेपाली नागरिक उद्दार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी (३ फागुन) मा आफ्ना नागरिक उद्दार गर्न चाहेको जानकारी गराएको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ।

चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ।

"३ फागुनमा चीन जान तयार रहनू भनेर पर्यटन मन्त्रालयबाट निर्देशन आएको छ," निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, "वुहानबाट ल्याउने १८० नेपालीको सूची निगमलाई आइसकेको छ ।"

तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोलीसहितको जहाज चीन जानेछ। जहाजमा सेना र नेपाल प्रहरीका दुई चिकित्सक, दुई नर्ससहितको स्वास्थ्यकर्मीको टोली हुनेछन्।

उनीहरूको नाम गोप्य राखिएको छ । "क्रु तथा डाक्टर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको पोशाक लगाएर त्यसतर्फ जानेछन्," प्रवक्ता खड्काले भनिन् ।

जहाज फर्किसकेपछि भने ४८ घन्टा ग्राउन्डेड गरिनेछ। "विश्वभरि नै यस्ता चार्टर फ्लाइट भइसकेपछि जहाजमा सिकिङ चेक गरेर ४८ घन्टा ग्राउन्डेड गरिन्छ," खड्काले भनिन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनस्थित नेपाली दूतावासले उद्दारका लागि आवश्यक तयारी गर्न ७२ घन्टाको समय मागेको छ।

चीन सरकारसँग समन्वय गरेर प्रक्रिया पूरा गर्न र उद्दार गरेर नेपाल ल्याएपछि राख्ने ठाउँ व्यवस्थापन गर्न केही समय लाग्ने भएपछि ३ फागुनको मिति निश्चित गरिएको ती मन्त्रीले बताए।

सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार संक्रमित क्षेत्रबाट उद्दार गरिने व्यक्तिलाई नियमित अनुगमन गरेर कोरोनाको लक्षण भए-नभएको निधो गरिन्छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्