दैलेखमा नौ जनामा मलेरिया भेटियो

दैलेख। दैलेखमा नौ जना मलेरियाका बिरामी भेटिएका छन्।

रोजगारीका लागि भारत गएका मानिस फर्किएसँगै लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यो रोगबाट पाँच वर्षीय बालकसमेत संक्रमित छन्।

जिल्लामा उपचार हुन नसकेपछि ती बालकलाई कान्ति बाल अस्पताल काठमाडौँमा थप उपचारको लागि लगिएको बताइएको छ।

मलेरियाका बिरामी दैलेख क्षेत्र-२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो।

रोगको संक्रमण अन्यत्र फैलिन नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले बताए।

जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार जना र उपचारको क्रममा बाहिर गएका पाँच जनामा मलेरिया देखिएको जानकारी दिए।

कोही एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीबाट जाँच गर्नुपर्ने प्रावधान छ। रासस

प्रतिक्रिया दिनुहोस्