भ्याटको १० प्रतिशत रकम बैंक खातामा फिर्ता पाइने

काठमाडौं। आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको शुरूआत गरेका छन्।

विभागले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी बायोमेट्रिक दर्ता र विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीको शुरूआत गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणालीलाई सुधार गर्न प्रविधिको प्रयोग बढाउने र कर सहभागिता बढाउन भ्याटमा केही छुट दिने नीति लिएको बताए।

उनले सरकारको कर नीति बढी राजस्व संकलन गर्ने भन्दा पनि करको दायरा बढाउने, पहुँच बढाउने तथा लगानीमैत्री र व्यवसायमैत्री कर प्रणालीको विकास गर्नु रहेको बताए।

उनले करदतालाई कर बुझाउने क्रममा हुने समस्याको अन्त्य गरी भौगोलिक र प्राविधिक रूपमा पहुँच बढाउने गरी सरकारले कर नीतिहरू लागू गरेको समेत बताए।

कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले करको दायरा बढाउन भ्याटमा क्यास ब्याक प्रणालीलाई प्रभावकारी बनाउने बताए। उनले सरकारले पारदर्शी कर प्रणालीको विकास होस्, अनुमान योग्य कर प्रणालीको विकास होस् र कारोबारलाई सही ढंगबाट चित्रित गर्न सकियोस् भन्ने उद्देश्यले भ्याटमा क्यास ब्याकको नीति अवलम्बन गरेको बताए।

उनले कर प्रणालीको विकासले राजस्व चुहावट कम हुने र अनाधिकृत आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने आधार तयार गरेको बताए।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्था गरेको थियो। सोही व्यवस्थाको कार्यान्वयन सात महीनापछि शुरू भएको हो।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले मूल्य अभिवृद्धि कर (भ्याट)को वृद्धिदर ३१ प्रतिशत रहेको र क्यास ब्याक गर्ने व्यवस्थाले यसको दायरा अझै बढ्ने समेत बताए। भ्याटमा क्यास ब्याक गर्ने प्रणालीको दायरा बढाउन सबै बैंक तथा वित्तीय संस्था र व्यवसायीहरूसँग छलफल भइरहेको समेत उनले बताए।

त्यस्तै एक जना करअधिकृत बराबर कम्तीमा एक जना व्यवसायी क्यास ब्याक प्रणालीमा आवद्ध गराउने योजनासहित कामलाई अगाडि बढाएको समेत उनले बताए।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्था गरेको थियो। सोही व्यवस्थाको कार्यान्वयन सात महीनापछि शुरू भएको हो। तर, यस्तो भ्याट फिर्ता डेबिट र क्रेडिट कार्डबाट हुने भुक्तानीमा नहुने विभागले जनाएको छ।

भ्याट फिर्ताका लागि विक्रेता, सेवा प्रदायक, विद्युतीय बिजक सम्बन्धी काम गर्ने कम्पनीहरू विभागको सफ्टवेरमा जोडिनुपर्ने हुन्छ। उपभोक्ताले राष्ट्र बैंकबाट मान्यताप्राप्त वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता पाउने छन्।

त्यस्तै भ्याट फिर्ताका लागि विक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गरेको हुनुपर्ने छ। त्यसपछि मात्र उपभोक्ताले आफूले तिरेको भ्याटको १० प्रतिशत रकम तत्काल आफ्नो खातामा फिर्ता पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्