कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता बाँड्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ।

आजको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्यसमिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो।

प्रत्येक वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रवक्ता शर्माले ११ पुसको बैठकले महाधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनी गरेको निर्णय आजको बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए। केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महाधिवेशनसम्म विधानका पाँचवटा धारा निलम्बन गर्ने निर्णय निर्णय गरेको थियो। त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरू मान्य नहुने बताउँदै आएको थियो।

कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ। प्रवक्ता शर्माका अनुसार यही १५ फागुनभित्र समायोजन गर्न जिल्लाहरूलाई निर्देशन दिएको छ। कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उनको भनाइ छ।

कांग्रेसले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरूमाथि पूर्वाग्रह राखी सुनियोजितरूपमा झुटा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरीतका विधेयक ल्याउने सरकारी निर्णयको भत्र्सना गरेको जनाएको छ। शर्माले पार्टीका मुद्दा र राष्ट्रिय मुद्दाहरूको सन्दर्भमा पार्टीका सबै नेताहरू एक ठाउँमा आएको सन्देश पनि बैठकले दिएको बताए।

प्रतिक्रिया दिनुहोस्