उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतिको प्रयास विफल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वमा पुग्ने वरिष्ठ उपाध्यक्ष सर्वसम्मत चयन गर्ने प्रयास अन्ततः असफल भएको छ। महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आज बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

योसँगै महासंघमा अर्को कार्यकालको नेतृत्व गर्ने वरिष्ठ उपाध्यक्ष पदमा दुई जनाले उम्मेद्वारी घोषणा गरेका छन्। प्रधानले आज विराटनगरमा कार्यक्रम आयोजना गरेर उम्मेद्वारी घोषणा गरेका हुन्। उनको उम्मेद्वारी घोषणा कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्धय पशुपति मुरारका र कुशकुमार जोशी उपस्थित थिए।

यसअघि एसोसियटतर्फका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरिसकेका छन्। चैतमा हुने महाधिवेशनको लागि ढकालले आफ्नो गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरेका थिए।

यसअघि महासंघमा जोडतोडले उठेको विधान संशोधनको विषय गत कात्तिकमा टुंगिएको थियो। विधान संशोधनको विषय टुगिंएसँगै वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने बाटो खुलिसकेको छ।

त्यसअघि महासंघको विधान संशोधन समितिले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको प्रावधानलाई बदल्ने प्रयास गरेको थियो। तर, २४ कात्तिकको समिति बैठकले २९ कात्तिकलाई तोकिएको विशेष साधारणसभा स्थगन गर्ने निर्णय गरेसँगै विधान संशोधनको विषय टुगिंएको थियो।

विधान संशोधनको विषय टुंगो लागेसँगै महासंघको आगामी निर्वाचन वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ। लामो समयसम्म चलेको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वा अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने भन्ने विवाद सुल्झिएसँगै महासंघको चुनाव स्वतः वरिष्ठ उपाध्यक्षतर्फ मोडिएको हो।

अर्को दुई/तीन कार्यकालसम्म वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने प्रावधानलाई महासंघले परिवर्तन गर्ने सम्भावना तत्काल देखिँदैन।

आउँदो २८ चैतमा हुने महाधिवेशनमा महासंघका पाँच पदाधिकारीसहित ७० पदका लागि निर्वाचन हुँदैछ। सर्वसम्मत नभएमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (एशोसियट, वस्तुगत र जिल्ला–नगर) लगायत अन्य पदका लागि निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनुहोस्