नेकपा अध्यक्ष दाहालको अभिव्यत्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं। तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्व शुरु गरेको दिन १ फागुनको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध दिवस’ मनाएको थियो।

त्यही कार्यक्रममा सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन राजाको सक्रिय शासनविरुद्ध आन्दोलनरत सात दलमध्येको एक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई ‘फौज आक्रमण बढाइदिनुपर्‍यो’ भन्ने गरेको बताएका थिए। उनले भनेका थिए, “गिरिजाबाबुले हामीहरुलाई फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो, सदरमुकामतिर हान्नुपर्‍यो भन्नुहुन्थ्यो ।”

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकश शर्माले आज एक विज्ञप्ति जारी गरी दाहालले ‘विवादास्पद अभिव्यक्ति दिएको’ र त्यसप्रति नेपाली कांग्रेसको ‘ध्यान गम्भीर ढंगले आकर्षित भएको’ जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ।’

कोइरालाले साँच्चिकै त्यस्तो भनेको भए दाहालले कोइराजा जिवित छँदै नै त्यो संवाद सार्वजनिक गर्नुपर्ने बताउँदै कांग्रेसले भनेको छ, ‘तर, उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ।’

माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको कांग्रेसले दावी गरेको छ।

‘हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ,’ कांग्रेसले भनेको छ।

प्रतिक्रिया दिनुहोस्