महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई भइरहेको छ।

जबरजस्ती करणी उद्योग मुद्दामा आज महराका तर्फबाट कानून व्यवसायीहरूले बहस गरिरहेका छन्।

जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको हो।

२६ माघमा महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ शुरू भएको थियो। सरकारी वकील कार्यालयको तर्फबाट भने यसअघि नै बहस सकिएको छ।

सरकारी वकील चन्द्रकान्त खनाल, उमाकान्त पौडेलसहित चारजनाले बहस गरिसकेका छन्।

बहस सकिएर अन्य कुनै आदेश गर्न नपर्ने भएमा आजै अन्तिम फैसला आउने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई बताए।

संसद सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

अदालतले प्रारम्भिक सुनुवाईमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालतले पनि उनलाई जिल्लाको आदेश नै सदर गर्दै छाड्न मानेको थिएन्। उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको कसुरमा साढे दुई वर्षसहित साढे सात वर्ष कैद हुनुपर्ने भन्दै अभियोग दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्