सरकारले जनअपेक्षाअनुसार काम गरेनः कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाएको छ।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सहज समयको सदुपयोग गर्न नसकेको बताए।

संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको सरकारका दुई वर्षका कामको विवरणहरूमा कुनै सत्यता नभएको उनको भनाइ छ। “सरकार पूर्णरूपमा असफल भएको कांग्रेसको मूल्यांकन हो”, उनले भने, “भ्रष्टाचारमा संलग्न आफ्ना मान्छे जोगाउने खेलमा सरकार लागेकाले आफैंमा भ्रष्ट बन्दै गएको प्रष्ट भइसकेको छ।”

मुलुकमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको, महंगी झनै बढेको तथा बेरोजगारको संख्या बढ्दै गएको तर्फ सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ।

सरकार राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्ति सुरक्षा, सुशासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगारी सृजना र विस्तार, सांस्कृतिक रुपान्तरणको कोणबाट पूर्णरूपमा असफल भएको कांग्रेसले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्