खरिपाटीमा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्य कक्ष

भक्तपुर। चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्‍वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै स्वास्थ्य कक्ष स्थापना गरिएको छ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य कक्ष राखिएको जानकारी दिए। उनले आजदेखि चिकित्सकसहितको स्वास्थ्य कक्ष राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचार समेत गर्ने गरी व्यवस्थापन गर्न लगाइएको बताए।

चाँगुनारायण-७, घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आजदेखि स्वास्थ्य कक्ष स्थापना गरेको हो। स्वास्थ्य कक्षमा अस्पतालका डा. मञ्जु बज्राचार्य र नर्स मैया नायवाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ।

हरेक दिन बिहान १० देखि दिउँसाे ३ बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा. बज्राचार्यले भनिन्, “आज पहिलो दिन भएकाले हाेला स्वास्थ्य परीक्षणका लागि कोही आउनु भएन।”

नियमितरूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। क्वारेन्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगर प्रमुख मिश्रको भनाइ छ।

नगर प्रमुख मिश्रले स्थानीय बासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्ने अडान रहेको बताए। स्थानीयवासी अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको उनको भनाइ छ।

सरकारले आज चीनकाे वुहानबाट १७५ नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्