प्रधानमन्त्री बन्नका लागि मात्र पार्टी एकता गरेकाे हाेइनः दाहाल

बाँके। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित प्रदेश ५ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रष्ट्याए।

उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए। अध्यक्ष दाहालले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्‍याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे।

अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्त्वपूर्ण उपलब्धि भएको बताए।

नेकपा प्रदेश ५ कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र मुख्यमन्त्री पोखरेलले प्रशिक्षण दिएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्