प्रधानमन्त्रीले भने- 'विदेशिएका नेपालीलाई स्वदेश फर्काउने गरी रोजगारीको अवसर शुरू भएको छ'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको कामसँगै रोजगारीको अवसर सृजना गरेर विदेशमा काम गरिरहेका नेपालीलाई स्वेदश फर्काउने अभियानमा सरकार लागेको बताएका छन्।

"विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने ( ब्रेन गेन) अभियान शुरू भएको छ", प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रूपमा अगाडि बढाएको भन्दै केही मान्छेलाई यसले पीर परेको बताएका छन्।

काठमाडौं उपत्यकामा आजबाट थालिएको विद्युतीय तार भूमिगत बनाउने कामको शुभारम्भपश्चात सम्बोधनमा प्रधानमन्त्री ओलीले विकास सबैको साझा नारा र कर्तव्य भएको बताएका छन्।

प्रधानमन्त्रीले भने, “सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ। सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?”

देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

ओलीले आफू नेतृत्वको सरकार गठन भएपश्चात दैनिक छ किलोमिटरको दरले सडक कालोपत्रे भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेस गरे।

विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने र शहरमा कुरुपताको अन्त्य हुने प्रधानमन्त्रीको विश्वास छ।

“यो योजनासँगै गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ”, प्रधानमन्त्रीले भने।

आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पुर्‍याउन र नेपालले विद्युत् निर्यातसमेत गर्ने प्रधानमन्त्रीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्