लोकतन्त्रकै जगमा हामी मुलुकलाई समृद्ध बनाउनेछौँ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर मुलुक समृद्ध बनाउने दिशामा अघि बढिरहेको बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले देशको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गरेका छन्।

'आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतिर, अविकसितबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ', प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ।

वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताएका छन्।

'यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरिरहेका छौँ', उनले भनेका छन्, 'यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौँ।'

समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरंकुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा प्रधानमन्त्रीले आजको दिनलाई स्मरण गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्