स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न स्वास्थ्य राज्यमन्त्री रावतकाे निर्देशन

सुृखेत। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमामार्फत् उपचार गर्न आउने बिरामीलाई भेद्‍भाव नगर्न निर्देशन दिएका छन्।

प्रदेश अस्पतालको १४औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेद्‍भाव नगर्न निर्देशन दिए।

“स्वास्थ्य बीमा गरेका उपचारका लागि आउँदा अस्पतालले राम्रो व्यवहार नगरेको भन्ने गुनासा देशभरिबाटै आएका छन्” उनले भने, “सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्‍याउने सरकारको लक्ष्य छ, त्यसैले आउँदा दिनमा यस्तो कुरा सुन्न नपरोस्।”

उनले मन्त्री–राज्यमन्त्रीबीचको कार्य विभाजनमा स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जिम्मेवारी आफूले पाएको जानकारी दिए। यसलाई थप विस्तार एवं व्यवस्थित गरिने उनको भनाइ छ।

राज्यमन्त्री रावतले स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशि खर्च भइरहेकाले स्वास्थ्य बीमामार्फत् यसलाई घटाउने योजनामा सरकार लागिपरेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्