स्वीस दूतावासले भन्यो- ‘स्वीस कम्पनीका एजेन्ट भनिएका मिश्रबारे जानकारी र सम्बन्ध छैन’

काठमाडौं। काठमाडौंस्थित स्वीट्जरल्याण्ड दूतावासले आज विज्ञप्ति प्रकाशन गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदसम्बन्धी अडिओसहितको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्री बाँस्कोटाले घुस मागेको भनिएको उक्त समाचारबारे स्पष्ट पार्न निकालिएको विज्ञप्तिमा स्वीस कम्पनीको नेपाली प्रतिनिधि भनिएका व्यक्तिसँग दूतावासको कुनै पनि सम्बन्ध नभएको उल्लेख छ।

‘स्वीस कम्पनीको स्थानीय एजेन्ट भनि समाचारमा उद्धृत गरिएका व्यक्तिबारे दूतावासलाई थाहा पनि छैन, कुनै पनि प्रकारको डिलिङमा दूतावास संलग्न पनि छैन,’ विज्ञप्तिमा भनिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वीस कम्पनीको स्थानीय एजेन्ट बताउने विजयप्रकाश मिश्रको संवाद बाहिरिएपछि मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन्।

करीब साढे दुई मिनेटको उक्त संवादमा सेक्युरिटी प्रिन्टिङ मेसिन खरीदपछि लिइने कमिसनमा मोलमोलाइ भएको सुनिन्छ।

दूतावासले मन्त्री बाँस्कोटासँग कुनै पनि बैठकका लागि अनुरोध नगरेको स्पष्ट पारेको छ। ‘समाचारमा उल्लेख गरिएको विषयमा भविष्यमा पनि सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग कुनै बैठक हुँदै छैन,’ दूतावासको विज्ञप्तिमा छ।

प्रतिक्रिया दिनुहोस्