सत्तारूढ विद्यार्थी संगठनबीचकै विवादले कृषि विश्‍वविद्यालय ठप्प
भरतपुर। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृसंगठन अनेरास्ववियुमा देखिएको विवादका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा पठनपाठन ठप्प भएको छ।

चल्दै गरेको मत्स्य विज्ञानतर्फ स्नातक तह सातौँ र तेस्रो सेमेस्टरको परीक्षासमेत स्थगित भएको छ ।

५ फागुनमा तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच ‘२५औँ जनयुद्ध दिवस’ मनाउने विषयमा दुई पक्षबीच झडप भएको थियो ।

झडपपछि विश्वविद्यालयको अध्ययन-अध्यापन ठप्प जस्तै छ । चितवनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भए पनि विद्यार्थी संगठनबीच एकता भइसकेको छैन।

तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच झडप हुँदा अखिलका केन्द्रीय सदस्य देवप्रसाद पाठक गम्भीर घाइते भएका थिए। उनी तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष पनि हुन् ।

विश्वविद्यालयमा दिनदिनैजसो झडप हुँदा पनि पार्टीले बेवास्ता गरेको भन्दै अनेरास्ववियुका विद्यार्थीले नेकपाको जिल्ला कार्यालयसमेत तोडफोड गरेका थिए।

पार्टी कार्यालय तोडफोड गरेको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा छन्। प्रहरीले उनीहरूलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेको छ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार प्रहरी हिरासतमा रहेकामा क्रान्तिकारीका सुदीप सुवेदी, प्रेमकुमार मगर, अभिषेक न्यौपाने र अखिलका सागर काफ्ले, कृतिम श्रेष्ठ र गोपाल थापा छन् ।

१ फागुनमा ‘जनयुद्ध दिवस’ मनाउने विषयमा विवाद बढ्दै जाँदा झडप भएको थियो।

दिवसकै सन्दर्भमा पूर्वक्रान्तिकारी समर्थित विद्यार्थीले लेखेको फेसबुक स्टाटसमा पूर्वअनेरास्ववियु समर्थित विद्यार्थीले कडा प्रतिक्रिया दिएपछि विवाद भएको थियो।

नेकपा चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियारले भने, "यो पार्टीभित्रैको आन्तरिक समस्या हो, हामी मिलाएर अघि बढ्छौँ।"

विश्वविद्यालयमा तनाव कायमै रहेपछि १६ फागुनसम्मका लागि पठनपाठन बन्द गरिएको छ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि मत्स्य विज्ञानतर्फ स्नातक तह सातौँ र तेस्रो सेमेस्टरको परीक्षासमेत स्थगित भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्