राँके–रवी–भेडेटार सडक निर्माणले गति लियो

पाँचथर। राँके–रवी–भेडेटार सडक निर्माणको कामले गति लिएको छ। निर्माण उपकरण तथा कामदारको सङ्ख्यासमेत बढाएर कामलाई तीब्रता दिइएको छ।

अधिकांश स्थानमा सडक विस्तार (ब्याक कटिङ)को कार्य अघि बढेको छ। सो सडकको एक वर्षसम्म निर्माण कार्य पाँच प्रतिशतसमेत पूरा भएको छैन। निर्माण कार्यले गति लिन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले हालै स्थलगत अनुगमन गरेर काममा तीब्रता दिन भनेका थिए। यसपछि निर्माणले गति लिएको हो ।

१०१ किलोमिटर लामो उक्त सडकमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने तथा धेरै चट्टानसमेत नभएका कारण निर्माण कार्य अघि बढाउन ठूलो चुनौती छैन। सडक निर्माणमा स्थानीयस्तरमा अवरोध र समस्या समेत नहरेकाले द्रूत गतिमा निर्माण अघि बढाइ निर्धारित समयमै निर्माण कार्य पूरा हुने जनाइएको छ।

स्थानीयवासीका अनुसार पछिल्लो पटक सो सडक खण्ड निर्माणले द्रुत गति लिन थालेको छ। निर्माणले पछिल्लो पटक गति लिएको र त्यसको निरन्तरता आवश्यक रहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए।

भारतीय ऋण सहयोगमा यो सडक निर्माण गर्ने समझदारी भएको थियो। गत वर्षको २० पुसमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवीमा यो सडकको शिलान्यास भएको थियो।

१०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ। यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन्। तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

सात मिटर चौडा बाटोले यहाँका धेरै व्यापारिक केन्द्र र ठूलो परिमाणमा कृषिउपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ। २०४६ सालपछि यो सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति र कालोपत्रे हुन सकेको थिएन।

भारतको आयात–निर्यात (एक्जिम) बैंकको तीन अर्ब ६५ करोड रुपैयाँको ऋण सहयोगमा सडक निर्माण भइरहेको हो। यस आयोजनाको ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग हो।१३ प्रतिशत नेपाल सरकारले लगानी गरेको छ। सडक निर्माण भारतीय कम्पनी एप्कोले गरिरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्