सत्ती भन्सार: क्वारेन्टाइन नहुँदा राजस्व संकलन घट्यो

कैलाली। कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजस्व संकलन घटेको छ।

यो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ।

भन्सार कार्यालय प्रमुख रामचन्द्र ढकालका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सात करोड २९ लाख ७७ हजार रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको भए पनि तीन महीना देखिको अवस्था हेर्दा असुली न्यून छ।

कार्यालयले मंसीरमा ५८ लाख लक्ष्य राखेकामा ४७ लाख, पुसमा ५६ लाख लक्ष्यमा ३८ लाख र माघमा ५४ लाख लक्ष्यमध्ये ३७ लाख रूपैयाँ मात्र राजस्व संकलन गरेको छ।

यस क्षेत्रमा आयात गर्ने सामग्री घरायसी प्रयोजनको हुने भएकाले न्यून हुँदै गएको ढकालले बताए।

“क्वारेन्टाइन भइदिएको भए पशुजन्य वस्तुको पनि आयात बढ्ने थियो । दैनिक उपभोग्य वस्तुको यहाँ धेरै माग छ तर क्वारेन्टाइन नभएकै कारण ल्याउँदा सीमित मात्रामा ल्याउनुपर्ने व्यापारीको बाध्यता छ।” ढकालले भने, “क्वारेन्टाइन नहुँदा स्थानीय बासिन्दा पनि विवाह, भोज, पूजा आदिका नाममा सामान ओसार्ने गर्दछन् । यिनलाई कडाइ गर्न पनि सकिएको छैन । राजस्व संकलनमा पनि घाटा भएको छ।”

यहाँ पहिले क्वारेन्टाइन जाँचचौकी राखिएकोमा सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आफूहरुले प्रदेश र केन्द्र सरकारका साथै पशुपक्षी विकास मन्त्रालयमा यस भन्सारलाई प्राथमिकतामा पार्न अनुरोधसहित माग पेश गरेको बताए।

रावलले भने, “क्वारेन्टाइले राजस्‍व संकलनमा वृद्धि मात्र नभई स्थानीय व्यापारीलाई व्यापार जोखिमबाट बचाउने, विभिन्न किसिमका आयातित रोग प्रकोपबाट बच्न सहयोग पुग्छ।”

व्यापारी शेरबहादुर साउद भन्सारबाट आयात हुने वस्तुको जाँचका लागि क्वारेन्टाइन स्थापना गर्न सबैले पहल गर्नुपर्ने बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस्