संविधान संशोधनको लागि बनाइएको नेकपा कार्यदल विवादमा

काठमाडौं। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान उनले चाहेअनुसारै संविधान संशोधन गर्न गठन गरिएको कार्यदल सार्वजनिक भएपछि नेकपामा यसले विवाद निम्त्याएको छ।

गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनित हुन तयार रहने अडान राख्दै आएका छन्।

नेकपा सचिवालयले १० फागुनको सचिवालय बैठकले माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। स्थायी कमिटी सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य तोकिएको छ।

यो विषय गोप्य राख्ने र गोप्य रूपमै त्यसले काम गर्ने तय भएको थियो।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा उक्त निर्णय भएको सचिवालयका एक सदस्यलाई उद्धृत गर्दै अन्नपूर्ण पोष्टले समाचार लेखेको छ।

एक व्यक्तिलाई केन्द्रमा राखेर संविधान संशाधन गर्न खोजिएको भन्दै वरिष्ठ नेता नेपालकै समूहभित्र असन्तुष्टि देखिएको छ।

नेम्बाङले पनि आफू कार्यदलमा नबस्ने भन्दै असन्तुष्टि जनाएका छन्। आफू संविधान सभा अध्यष भएर जारी गरेको संविधान आफ्नै पहलमा संशोधन गराउन उनी इच्छुक छैनन्।

फलस्वरुप यो कार्यदल नजन्मिँदै विवादमा तानिएको हो।

प्रतिक्रिया दिनुहोस्