कोरियाबाट आउनेको कोरोना परीक्षण अनिवार्य, शंका लागे आइसोलेसनमा भर्ना
काठमाडौं। सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ।

करीब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो ।

कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ११ फागुनमा बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो।

यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोेखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताए।

कोरियाबाट दैनिक करीब २०० नेपाली आउने गरेका छन्। चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने अधिकारीहरू बताउँछन्।

आजको नयाँ पत्रिकाको समाचार अनुसार चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनुपर्ने बताएका छन्।

यसअघि चीनबाट १७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाका अनुसार नेपाल कोरोना भाइरसको जोखिमबाट बाहिर निस्कन सक्ने अवस्थामा छैन।

"क्वारेन्टाइनमा नबसेका व्यक्तिहरू कोरियाबाट नेपाल आइरहेका छन्, उनीहरूको कुनै परीक्षण भएको छैन," डा. बाँस्तोलाले भने, "लक्षण नै नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ, त्यसैले सूक्ष्म रूपमा निगरानी गर्न आवश्यक छ ।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्