आमरण अनशन बसेका वडाअध्यक्ष अस्पताल भर्ना

चितवन। छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका-१ का वडा अध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुन संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव-वन्यजन्तु द्वन्द्व निवारणमा वन र वस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्नेलगायतका माग राखेर वडा अध्यक्ष पौडेलसहितको टोली अनशनमा बसेका छन्।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने अनशनकारीको माग छ।

अनशनका क्रममा बिरामी भएपछि स्वास्थ्य परीक्षण गर्दा पौडेलको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै गएको उपचारमा संलग्‍न डा. श्रीराम तिवारीले जानकारी दिए।

उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

यसैबीच अनशनरत पौडेलको माग सुनुवाइ नभएको भन्दै स्थानीयले आज माडी क्षेत्र बन्द गराएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्