कमल थापाले पनि भने- एमसीसीका केही प्राविधिक विषय परिमार्जन गर्नुपर्छ

सुर्खेत। राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्यलाई असान्दर्भिक भनेका छन्। आज सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष थापाले संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको टिप्पणी गरे।

उनले भने, “यदि संविधान संशोधन गर्ने नै भए राजसंस्थासहितको हिन्दू राष्ट्र हुनुपर्ने जनताको चाहनालाई सम्बोधन गरौं, यो हाम्रो पार्टीको मात्र नभई ८० प्रतिशत जनताको चाहना हो।”

वर्तमान सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी र विदेशी प्रभाव रोक्न नसकेको आरोप समेत लगाएका थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरिरहेको टिप्पणी गरेका छन्।

सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशंका सिर्जना भएको थापाको भनाई थियो।

एमसीसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अराजक मनस्थिति प्रदर्शन गरेको आरोप लगाउँदै थापाले भने, “एमसीसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्र हितमा लागू गर्नुको विकल्प छैन।”

प्रतिक्रिया दिनुहोस्