गाई किन्न निजी कम्पनीलाई ११ करोड दिँदै गण्डकी प्रदेश सरकार

पोखरा। गण्डकी प्रदेश सरकारले एक निजी गाई फार्मलाई चिनियाँ गाई किन्‍न ११ करोड रूपैयाँ निकासाको तयारी गरेको छ।

प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन भन्दै ९ माघको प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टरको सेयर किन्न ११ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो।

तर उक्त रकम गण्डकी प्रदेश सरकारले भनेजस्तै चिनिया गाई किन्न निकासा दिन लागेको देखिँदैन।

रामेछापका रामकुमार खड्का अध्यक्ष रहेको गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टर प्रालिको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले हचुवाको भरमा उक्त रकम निकासा गर्ने निर्णय गरेको पाइएको छ।

११ करोड रुपैयाँ दिँदा प्रदेश सरकारको सेयरको हिस्साबारे कहीँ उल्लेख छैन।

२० करोड रुपैयाँ चुक्ता पुँजी हुने भनिएको उक्त काउ फार्ममा स्थानीय जनताको पनि लगानी हुने भनिएको छ।

स्थानीयले अहिलेसम्म कति लगानी गरे र अब कति लगानी गर्दैछन् भन्ने केही उल्लेख छैन।

स्थानीयबाहेक हाल कायम रहेका कम्पनीका सेयरधनीले उक्त कम्पनीमा कति लगानी गरेका छन् भन्ने काजगात पनि प्रदेश सरकारसँग छैन।

करीब ७०० रोपनी जग्गा पनि स्थानीय बासिन्दालाई सेयर दिनेगरी कम्पनीको नाममा पास गरिएको खुलेको छ।

त्यो पनि चलनचल्तीको मूल्यमा नभई सरकारी दररेटमै खरिद गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा उल्लेख छ।

कम्पनीका सञ्चालकले प्रदेश सरकारसँग जग्गाको रजिस्ट्रेसन पास गर्न, जमिन सम्याउन, डोजर र ट्र्याक्टर खरिद गर्न, कर्मचारीको आवास निर्माण र मोटरसाइकल खरीद गर्न २५ करोड रुपैयाँ प्रदेश सरकारसँग माग गरेका थिए।

त्यसमध्ये मन्त्रिपरिषद्ले तत्काललाई ११ करोड रुपैयाँ दिने निर्णय गरेको हो।

गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टरलाई चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सिएएएमएस) को साथ छ।

सिएएएमएसको चाहना अनुसार खड्का अध्यक्ष रहेको कम्पनीले मन्त्रालयमा प्रस्ताव पुर्‍याएको देखिन्छ।

सिएएएमएसको सहकार्यमा तयार गरिएको परियोजनाको नाम ‘रुरल पोभर्टी रिडक्सन बाइ डेरी डेभलपमेन्ट इन नेपाल’ राखिएको छ।

जसमा भविष्यमा सिएएएमएसको २० अर्ब, स्थानीय जनताको पाँच अर्ब, प्रदेश सरकारको २५ करोड र निजी क्षेत्रको २५ करोड रुपैयाँ गरी २५ अर्ब ५० करोडको परियोजना लगानी हुने देखाइएको छ। परियोजना प्रदेश दुग्ध विकास बोर्ड मातहतसञ्चालन हुने भनिएको छ ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्‍नेतले सो कम्पनीमा प्रदेश सरकारको कम्तीमा ५१ प्रतिशत सेयर रहने दाबी गरे।

तर, सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ‘काउ फार्म’ संचालन हुने भनिए पनि लगानीको सुनिश्चितता छैन।

सिएएएमएस र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्न चिनियाँ कम्पनी र गण्डकी सरकारबीच १७ फागुन २०७५ मा सम्झौता भएको थियो।

गण्डकी प्रदेशसँगै प्रदेश २ र बागमती प्रदेशमा चीनको ३२ अर्ब लगानीमा १० हजार उन्नत गाई भित्र्याएर व्यवसायिक गाई फार्ममार्फत प्रदेशलाई समृद्ध बनाउने लक्ष्यसहित सम्झौता भएको छ ।

उन्नत जातको होलिस्टन फ्रिजियन गाई अनुदानमा ल्याएर प्रदेशलाई दुग्धजन्य पदार्थको हब बनाउने, आत्मनिर्भर हुने र आर्थिक वृद्धिदर बढाउने सम्झौतामा उल्लेख छ ।

जस अनुसार पहिलो चरणमा ५ सय गाई ल्याउने सहमति पनि भएको छ । चीनबाट अनुदानमा गाई ल्याएर फार्म सञ्चालन गर्न तीन महीनाभित्र आवश्यक जग्गा पहिचान र डिपिआर तयार गर्ने सम्झौता भएको छ ।

तर, सम्झौता भएको एक वर्ष बित्दासमेत परियोजना सञ्चालनका लागि जग्गाको पहिचान भएको छैन भने डीपीआरको पनि अत्तोपत्तो छैन।

-समाधानन्यूज डटकमबाट

प्रतिक्रिया दिनुहोस्