किन भइरहेको छ, नागढुंगामा जाम ?

नागढुंगा। दशैंको आज सातौं दिन फूलपाती । दशैं मनाउन २० लाखबढी मानिसहरु उपत्यकाबाट बाहिरिसकेका छन्। अझै यो क्रम जारी छ।

देशको संघीय राजधानी काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकमा सवारी जामले दशैं मनाउन हिंडेका यात्रुहरुले भने घण्टौ सास्ती भोगिरहेका छन्।

१० असोजमा यही सडकको १२ घण्टा लामो जाममा फसेर मिर्गौलासम्बन्धी समस्या भएका रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहको उपचारको क्रममा काठमाडौं ल्याउँदै गर्दा बसभित्रै मृत्यु भएको थियो।

दैनिक १४ हजार सवारी आवतजावत गर्ने यो सडकमा सवारीको अत्याधिक चापका कारण मर्मत गर्न नसकिएको सडक डिभिजन कार्यालले बताउँदै आएको छ।

प्रहरीले भने नागढुंगाको सवारी व्यवस्थापनको लागि विशेष टोली नै बनाएर काम गरिरहेको जनाएको छ।

नागढुंगामा सवारी जामले दशैंमा घर हिंडेका यात्रु चढेका सवारी, एम्बुलेन्स, सुरक्षा लगायतका अत्यावश्यक सेवाका साधन जाममा रोकिने क्रम भने उस्तै छ।

राजधानी छिर्ने मुख्य नाका भए पनि नागढुंगाको सडक साँघुरो छ। उपत्यका बाहिर ओहोरदोहोर गर्ने ठुला बसहरु एकै पटक आउने जाने हुदा साँघुरो सडकका कारण रोकिनुपर्ने अवस्था छ।

एकातिरको सवारी पास गराउन बाटो खुला गर्दा अर्कोतर्फको रोक्नुपर्ने अवस्था छ। जसले गर्दा सवारी रोकिने र जाम पर्ने ट्राफिक प्रहरीले जनाएको छ। ्

कलंकीदेखि नागढुंगासम्मको जामले उपत्यकाबाट समयमा गाडिहरु छुटेका छैनन्।

दुई पाङ्ग्रे सवारी साधनको चाप सडकमा उत्तिकै छ। दशैंको बेला बसको टिकट नपाउने कारणले अधिकांश यात्रुहरु आफ्नै मोटरसाइकल र स्कुटरमा यात्रा गरिरहेका छन्।

दुई पाङ्ग्रे सवारी सानो ठाउँबाट एकै साथ धेरैवटा छिर्दा पनि जाम बढेको छ।

प्रतिक्रिया दिनुहोस्