उत्तर कोरिया र अमेरिकाबीच स्टकहोममा वार्ता शुरु

उत्तर कोरिया र अमेरिकी अधिकारीहरु उत्तर कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न आज स्वीडेनको स्टकहोम आइपुगेका छन्।

पछिल्लो समय उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै समयमा दुबै देशका वरिष्ठ अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् ।

उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरेका छन्।

स्वीडेनकी विदेश मन्त्री आन लिन्डले अमेरिकी र उत्तर कोरियाली अधिकारीहरुले स्वीडेनलाई वार्तास्थल छनौट गरेकामा प्रसन्नता व्यक्त गरेकि छन्।

आणविक निःशस्त्रीकरण र शान्तिपूर्ण समाधानका लागि संवाद नै एकमात्र उपयुक्त विधि रहेको बताइन्।

उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा सन् २०१८ र यसै वर्षको जनवरीमा यस्तै किसिमको वार्ता स्वीडेनमा भएको थियो।

उत्तर कोरियाले गत १५ असोजमा पनि रकेट परीक्षण गरेको थियो ।

स्वीडेन प्रस्थान गर्नुअघि बेइजिङमा कुरा गर्दै उत्तर कोरियाली वार्ता टोलीका नेता किम म्योङ गिलले वार्ताप्रति आफूहरु निकै आशावादी रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले गरिरहेको सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी रहेको बताउँदै आएका थिए। एएफपी /रासस

प्रतिक्रिया दिनुहोस्