चीनसँग जोडिएका नाका खुल्न अझै समय लाग्ने

काठमाडौं। कोरोना भाइरस संक्रमणको कारण एक महीनादेखि बन्द रहेको चीनसँग जोडिएका मूख्य उत्तरी नाका खुल्न अझै केही समय लाग्ने भएको छ।

चीनमा कोरोना भाइरस संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै मुख्य नाका खोल्न हतार नगरिने सरकारी अधिकारीहरूले बताएका छन्।

नेपाल–चीन व्यापारका दुई मुख्य नाकाहरू रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी १५ माघयता पूर्णरूपमा बन्द छन्।

दुई मुख्य नाकाहरू बन्द हुँदा नेपाली व्यापारीका पाँच सयभन्दा बढी कन्टेनर चीनको केरुङ र खासामा रोकिएका छन्।

ती कन्टेनरमा तीन अर्ब रूपैयाँभन्दा बढीका वस्तु तथा सामग्री रहेको व्यापारीहरूको भनाइ छ।

उत्तरी नाका खुलाउने/नखुलाउने बारेमा यो साता अर्थ, गृह, स्वास्थ्य र वाणिज्य सचिवहरूको बैठक बसेको थियो।

चीनबाट आउने मानिसको स्वास्थ्य परीक्षणको व्यवस्था नाकामै गर्न उपकरण पर्याप्त भइनसकेकाले तत्कालनाका खोलिहाल्ने अवस्था नरहेको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बताए।

आजको आर्थिक अभियान दैनिकका अनुसार नाका सुचारु गर्ने भन्दा पनि मुलुकको स्वास्थ्य सुरक्षालाई सरकारले तत्कालको प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्