पश्मिना र कफी उत्पादनमा एक अर्ब लगानी हुने, मूल्य श्रृंखला सुधारको परियोजना शुरू

काठमाडौं। नेपालमा पश्मिना र कफी उत्पादन तथा त्यसको मूल्य श्रृंखलामा सुधार ल्याउने परियोजनाका लागि युरोपियन युनियनले करीब एक अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृंखलामा सुधार ल्याउन परियोजना कार्यन्वयन गर्न लागिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रले बताएको छ।

आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उक्त परियोजनाको लागि ८ मिलियन यूरो (करीब एक अर्ब रूपैयाँ) लगानी हुने बताएको छ। अन्तर्राष्ट्रिय व्यापार केन्द्रले ५ मिलियन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल स्थित युरोपियन युनियनको कार्यालयले संयुक्त रूपमा ३ मिलियन खर्च गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उक्त लगानीले नेपालमा कफी र पश्मिनाको उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने बताए।

क्षेत्रीय र विश्वव्यापी मूल्यश्रृंखलामा नेपाली उद्यामीहरुको सहभागिता बढाउने लक्ष्य परियोजनाको छ। परियोजनाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा निर्यात प्रवर्द्धन केन्द्रको क्षमता अभिवृद्धिमा पनि सहयोग गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्