सुरक्षा परिषद्मा कर्मचारी कटौति गर्दै राष्ट्रपति ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्‍मा कर्मचारी कटौति गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टस्ले जनाएको छ।

अमेरिकाको विदेश नीतिलाई चुस्त बनाउन राष्ट्रपति ट्रम्पले यस्तो कदम चालेको समाचारमा उल्लेख छ।

कर्मचारी कटौति गर्ने विषयमा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका कर्मचारी प्रमुख मिक मुल्वेन र राष्ट्रिय सुरक्षा परिषद्का सल्लाकार रोबर्ट ओ ब्रायनलाई गत हप्ता नै जानकारी दिएका छन्।

हाल राष्ट्रिय सुरक्षा परिषद्‍मा ३१० कर्मचारी छन्। तर, हटाइने कर्मचारीहरुको संख्या यकिन भएको छैन।

अमेरिकामा रिपब्लिकन पार्टीबाट राष्ट्रपति निर्वाचित ट्रम्पलाई डेमोक्रयाट्सहरुले महाअभियोग लगाउने प्रयास गर्दै गर्दा यस्तो समाचार बाहिरिएको हो।

डेमोक्रयाट्स नेता जो बिडेनविरुद्ध अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पले युक्र्रेनका राष्ट्रपति वलोडिमिर जेलेस्कीलाई २५ अक्टुबरमा फोन सम्पर्क गरेको सार्वजनिक भएपछि ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रयास भएको हो।

अमेरिकाका कानुन व्यवसायीहरुले अमेरिकी राष्ट्रपतिको यस्तो व्यवहारले अमेरिकाको राष्ट्रिय सुरक्षामा र आत्मसम्मानमा ठेस पुगेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्