कोरोना भाइरसका कारण इरानमा २१० को मृत्यु

लण्डन। कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो ६ गुणा बढी हाे।

शुक्रबार सरकारी अधिकारीहरुले कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए। यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको बताएका थिए।

इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताएका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए।

हालसम्म विश्वमा ८३ हजारभन्दा बढी कोभिड-१९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन्। इरानी अधिकारीहरूले कोभिड-१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन्। शनिबारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ।

तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन्। एएफपी

प्रतिक्रिया दिनुहोस्