'बामदेव प्रकरण' पछिको निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं। बामदेव गौतमलाई राष्‍ट्रिय सभा सदस्यमा लैजाने निर्णयसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ११ बजे सचिवालय बैठक तय गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

"पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल तथा आवश्‍यक निर्णय हुनेछ", थापाले देखापढीसँग भने।

नेकपा सचिवालयको १४ फागुनमा बसेको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्‍ट्रपतिसमक्ष सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो मन्त्रिपरिषद्मा निरन्तरता दिन चाहेका प्रधानमन्त्री ओली यहीकारण गौतमको प्रस्ताव कार्यान्वयन नगर्ने निर्क्योलमा पुगेको बताइन्छ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले १६ फागुनमा चितवन पुगेर 'प्रधानमन्त्रीले नै बामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्ने' बताएका थिए।

नेकपाभित्र नेताहरूबीच गौतमलाई राष्ट्रिय सभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने दुवै विकल्पमा छलफल भइरहेकाले यही धारमा सचिवालयमा पनि छलफल हुनसक्ने एक नेताले बताएका छन्।

प्रधानमन्त्री ओलीले सचिवालयको प्रस्तावअनुसार गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्छन् या गर्दैनन् भन्ने विषय अहिले बहुप्रतिक्षित छ।

प्रतिक्रिया दिनुहोस्