भोलि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्रीले आज ५ बजे बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुकी मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

मिर्गौला पुनः प्रत्यारोपण गर्न भोलि, १९ फागुनमा अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले नियमित रूपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आजै बोलाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक पाँच बजे बस्न लागेको देखापढीलाई बताए।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि भोलि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछन्। २१ फागुनमा उनको मिर्गौला प्रत्यारोपण गर्ने टुंगो लागेको छ।

आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेको जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि, २०६४ साउनमा भारतको गुडगावँस्थित मेदान्ता अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

तर, गत कात्तिकदेखि मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गर्दै आएका छन्।

पढ्नुहोस्

प्रधानमन्त्री ओलीले २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने

प्रतिक्रिया दिनुहोस्