उपत्यकासँग जोडिएका जिल्लामा १० नयाँ शहर

काठमाडौं। सरकारले काठमाडौं उपत्यका नजिककका जिल्लाहरूमा १० नयाँ शहर निर्माण गर्ने तयारी गरेको छ।

शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको जनघनत्व कम गर्न भन्दै ती ठाउँहरूमा नयाँ शहर निर्माण थालनी गर्नका लागि छलफल अगाडि बढाएको जनाएको छ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने वृहत् लक्ष्य राखेको जानकारी दिए।

उनले भने, “बाहिरी चक्रपथमा रहने गरी नयाँ शहर निर्माणका लागि जनप्रतिनिधिसँग छलफल अगाडि बढेको छ।”

मन्त्री मानन्धरले योजना बनेको १९ वर्षसम्म पनि निर्माण कार्यको टुंगो लाग्न नसकेको बाहिरी चक्रपथमा सरकारले फेरि नयाँ योजना ल्याएको बताएका छन्।

कारबार दैनिकका अनुसार वृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं नजिक वैकल्पिक शहर निर्माणको लागि प्रस्तावित टोखा–छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटे हुँदै देवीघाट, रातमाटे हुँदै गल्छीसम्म र थानकोट–नौविसे निर्माणाधीन सुरुङमार्गको नौविसेदेखि गल्छीसम्मको भूभागमा सुविसम्पन्न नयाँ शहर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्