अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदै छन्।

अस्पताल जानुअघि प्रधानमन्त्रीले राष्‍ट्रिय योजना आयोगको बैठक अध्यक्षता गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।

"अहिले नौ बजे उहाँले योजना आयोगको बैठक डाक्नुभएको छ। बैठक सकिएपछि सबै तयारीका साथ अस्पताल भर्ना हुनुहुनेछ", थापाले भने।

राष्‍ट्रिय योजना आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।

राष्ट्रिय योजना आयोगका सदस्य, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायतहरू बैठकमा सहभागी हुने छन्।

बैठकमा ऐतिहासिक र महत्वपूर्ण केही निर्णयको सम्भावना रहेको स्रोतले बताएको छ।

उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि आज महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन लागेको प्रधानमन्त्री ओलीले १८ फागुनको नेकपा सचिवालय बैठकमा जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकै सरकारी अस्पताललाई रोजेका छन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि, २०६४ साल साउनमा भारतको गुडगावँस्थित मेदान्ता अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

तर, गत कात्तिकदेखि मिर्गौलामा समस्या देखिएपछि उनले नियमित डायलासिस गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्