सडक विस्तारका लागि आफैँ घर भत्काउँदै स्थानीयवासी

तुलसीपुर। सडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका-६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन्।

तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरू गरेपछि टोलवासी सडक क्षेत्रमा पर्ने घर आफैँ भत्काउन थालेका हुन्।

प्राधिकरणले सो क्षेत्रमा सडक कालोपत्र गर्नका लागि ज्ञानज्योति मार्गमा ३०० मिटर सडक विस्तार गर्न लागेको वडाध्यक्ष नवराज लामिछानेले बताए। उनका अनुसार ५० वटा घर भत्काइएको छ।

“विकास प्राधिकरणअन्तर्गत वडा नं ६ को त्यस क्षेत्रमा सडक विस्तार गर्ने योजना थियो”, उनले भने, “सोहीअनुसार त्यहाँका बासिन्दाले आफ्नै सक्रियतामा घर भत्काउन थालिएको छ ।”

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणको काम अघि बढाएको छ । प्राधिकरणअन्तर्गत अहिले सडक ग्राभेल भइरहेको छ।

उपमहानगरपालिकाले यस वर्ष ५७ किलोमिटर सडक कालोपत्रे गर्दैछ।

अहिलेसम्म तुलसीपुरका १२ वटा वडामा ग्राभेलको काम पूरा भइसकेको छ। त्यस्तै सात वटा वडामा ग्राभेलको काम भइरहेको इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका- १ मा वडा कार्यालय अगाडिको बाटो र मनकामना मन्दिर (देव स्थान) जाने बाटो, वडा नं. २ को खैरीपुर, मनिकापुरलगायत, वडा नं. ३ को भट्टे, दमारगाउँ, राणागाउँ, वडा नं. ६ को ६ स्थान, वडा नं. १४ को लुहाडबरा, वडा नं. १५ को ढमक्कापुर र वडा नं. ८ तथा १६ मा ग्राबेलको काम सकिएको छ।

यसैगरी वडा नं ४, ५, ७, १०, १९, ११ र १३ मा अहिले ग्राबेलको काम जारी रहेको छ।

बाँकी वडामा पनि अबको केही समयमा काम पूरा हुने बताइएको छ।

प्राधिकरणले प्रत्येक वडामा तीन/तीन किलोमिटरको दरले कालोपत्रे लागि २२ करोड खर्च लाग्ने बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्