कैलालीका सीमा क्षेत्रका वासिन्दा अझै ढिके नूनकै भरमा

लम्की। भारतसँग सीमा जोडिएका कैलालीका दक्षिणी गाउँका नागरिक अझै पनि ढिके नून खान बाध्य छन्।

भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिके नून बिक्री गरिरहेका छन्।

“साइकलमा भारतबाट भित्रिएको ढिके नून नै आयोडिन नूनभन्दा सस्तो हुन्छ”, टीकापुर-९ खक्रौलाकी सीमा बुढाले भने, “खाद्यान्न, पुरानो फलाम, टुटेफुटेका प्लास्टिकलगायतका कवाडी सामानसँग साटेर ढिके नून मिल्छ । किन महँगो नून खानु भनेर यही खान्छौँ ।”

भारतीय नागरिकले बिक्री गर्ने ढिके नून उपभोग गर्दै आएका स्थानीयवासीलाई ढिके नूनको वेफाइदाबारे जानकारी छैन।

“नून कस्तो हो भन्नेबारेमा त हामीलाई खासै जानकारी छैन”, खक्रौलाकै तर्कबहादुर सुनार भन्छन्, “पुरानै चलन हो, हामी त यस्तै नून खाँदै आएका छौँ।”

भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिके नून उत्पादन गर्दै आएको छ।

ढिके नून खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ। सोही नून बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको छ।

ढिके नून बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले बताए।

निकासी पैठारी ऐन, २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुन आयात गर्न नपाउने व्यवस्था गरेको छ।

नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै नेपालमा नून आयात गर्दै आएको छ।

कुँवरले कुनै पनि व्यक्तिले भारतबाट एक किलो नून पनि ल्याउन नपाउने बताए।

“प्रहरी र प्रशासनसँग आयात रोक्नका लागि बेला बेला पत्राचार भइरहेको हुन्छ, तैपनि आउने गरेको छ, त्यो अवैध काम हो”, उनले भने “राज्यका सुरक्षा संयन्त्रले रोक्नुपर्छ ।”

साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्