भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै

चितवन। भरतपुर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

यसको लागि नियमित अनुगमन शुरू गरिएको महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले बताए।

'सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८' अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान थालिएको भण्डारीले बताए।

अनुगमन टोलीले शैक्षिक संघसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए/नभएको अनुगमन गरिरहेको छ ।

उपसचिव प्रधुन्नप्रसाद उपाध्यायको नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आइएको छ ।

अनुगमनका क्रममा ३५ पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुईजना व्यक्तिलाई समेत कारवाही गरिएको छ।

आउँदो डिसेम्बर महीना सम्ममा महानगरपालिकालाई ध्रुम्रपानरहित शहर (स्मोक फ्री सिटी) बनाउने महानगरपालिकाले तयारी थालेको छ।

भरतपुरकी मेयर रेनु दाहालका अनुसार ध्रम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर काम शुरू गरिएको छ।

गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री’ सिटी बनाउने प्रतिबद्धता जनाएकी थिइन्। रासस

प्रतिक्रिया दिनुहोस्