आज महानवमी, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

काठमाडौं। बडादशैंको नवौं दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरी महानवमी मनाइँदै छ।

नवरात्रको पहिलो दिन घटस्थापनामा आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्‍न शक्तिपीठहरूमा लगेर चढाइन्छ।

दशैंघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवी स्तोत्र पाठ गरिन्छ।

शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ।

काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठहरूमा भक्तजनहरूको आज बिहानदेखि भीड लागेको छ।

उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा, भोजपुरको सिद्धकाली लगायतका मन्दिरमा शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ।

आज हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने गरिन्छ।

हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ।

प्रतिक्रिया दिनुहोस्