प्रसूतिको शल्यक्रियामा प्रयोग गरिएका औषधिका कारण तीन महिलाको मिर्गौला बिग्रियो

काठमाडौं। प्रसूतिको शल्यक्रियाको क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन महिलाको मिर्गौलामा समस्या आएको छ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्थापन विभाग (डीडीए) ले हालका लागि उक्त ‘ब्याच’ का औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ।

४ र ५ फागुनमा प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीनजनामा एकै प्रकारको संक्रमण देखिएको थियो।

संक्रमण देखिएसँगै अस्पताल प्रशासनले १२ फागुनसम्मका लागि शल्यक्रिया कक्ष बन्द गरेको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउन शल्यक्रियामा प्रयोग भएका औषधि, औजारलगायतका सबै वस्तु शल्यक्रिया कक्षबाट नमूना संकलन गरेर अनुसन्धान शुरू गरेको थियो।

तीनमध्ये एक महिला एनएमसीमै उपचाररत् छिन् भने दुईजनालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

अनुसन्धानबाट त्यहाँ प्रयोग गरिएको ब्याक्टेरियाको संक्रमणविरुद्ध उपयोग हुने मेट्रोनिडाजोल सस्पेन्सन र रिंगर ल्याक्टेट नाम सलाइनमा खराबी रहेको पत्ता लागेको अस्पतालका मेडिकल निर्देशक डा. राजेशकिशोर श्रेष्ठले बताए।

“अनुसन्धानका लागि हामी मेडिकल काउन्सिल र डीडीएमा पनि गएका छौं। हामीसँग रहेको त्यो औषधि सबै फिर्ता पठाइसकेका छौँ, प्रयोग गर्न बन्द गरिसकेका छौँ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्