राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदै, नवनिर्वाचित सदस्यहरूको सपथ भोलि

काठमाडौं। राष्‍ट्रियसभाका १९ सदस्यको कार्यकाल आज सकिँदैछ।

पदावधि सकिनेहरूमा नेपाली कांग्रेसका सात जना, नेकपाका आठ जना, राष्ट्रिय जनता पार्टी नेपालका दुई जना र समाजवादी पार्टीका एक जना छन्।

४ असार २०७५ मा राष्ट्रिय सभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय भयो।

गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २१ फागुन २०७४ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा दुई वर्ष पुगेको दिन आजैबाट उनीहरुको पदावधि सकिने भएको हो।

दुई वर्ष पदावधि कायम भएकाहरूमध्ये आज पदावधि सकिनेमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेको पदावधि पनि आजै सकिदैँछ।

पदावधि सकिनेमा नेकपाका कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन् ।

त्यस्तै कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यहरूमा पाण्डेसहित दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले (राना) र सरिता प्रसाईको कार्यकाल पनि आजै सकिने छ।

राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरूमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि पनि सकिँदैछ।

नवनिर्वाचित सदस्यहरूको सपथ भोलि

राष्ट्रिय सभामा निर्वाचित नयाँ १८ सदस्यको सपथ भने २१ फागुनमा तय भएको छ।

९ माघमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका उनीहरूलाई २१ फागुन बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराउनेछन्।

संघीय संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को ल्होत्से हलमा सपथ कार्यक्रम राखिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन्।

९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका दुई जना उम्मेद्‌वार निर्वाचित भएका थिए।

एकजना सदस्य भने राष्ट्रपतिले मनोनित गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्