सिन्धुलीमा गाई-भैँसीलाई सुत्केरी भत्ता !
सिन्धुली। कमलामाई नगरपालिकाले गत साउनदेखि हालसम्म ५५० सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरेको छ।

पोषण तथा खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।

कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु स्वास्थ्य शाखाका प्राविधिक मीनबहादुर थापाले बताए।

किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, सुत्केरी गाईले जन्माएको बाछाबाछी तथा भैँसीले जन्माएको पाडा वा पाडी र पशुधनी भएको एकप्रति फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र निवेदन पेश गर्नुपर्नेछ।

अघिल्लो वर्ष पशुपालन नगर्नेले पनि गाई तथा भैँसी सुत्केरी भएको भनी पैसा लगेको गुनासो आएको र यस वर्षदेखि वास्तविक पशुधनीलाई मात्र प्रोत्साहन रकम प्रदान गरिँदै आएको थापाले जानकारी दिए।

हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ । यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको संख्या पनि बढेको छ।

यस आर्थिक वर्षमा नगर क्षेत्रका एक हजारभन्दा बढी किसानले पशुको बीमा गरिसकेका छन्।

नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ। पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने व्यवस्था छ।

थापाका अनुसार यस्तै पशुको बीमा गराउने पशुधनीको पनि दुई लाख रूपैयाँ बराबरको दुर्घटना बीमा स्वतः हुन्छ।

पशु बीमा गराउँदा सुत्केरी भत्ता पनि प्राप्त गराउने र केही गरी पशुको मृत्यु भएमा पूर्णरूपमा नोक्सानीसमेत व्यहोर्नुपर्ने अवस्थाबाट छुट्कारा पाउने भएकाले अहिले पशु बीमा गराउने पशुपालकको सङ्ख्या बढ्दै गएको उनले बताए।

नगरपालिकाले गत वर्षदेखि किसानलाई पशुपालनमा आकर्षित गराई नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन प्रोत्साहनस्वरुप एक हजार रूपैयाँ दिँदै आएको थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै किसानलाई आकर्षित गर्न यस आर्थिक वर्षबाट प्रतिपशु सुत्केरी भत्ता दुई हजार दिन थालिएको छ।

नगरपालिकाको भद्रकाली, जलकन्या, रानीचुरी, डाडीगुराँसेलगायतका स्थानमा गाई तथा भैँसीपालन गर्ने किसानको संख्या उल्लेख्य रहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्