खतिवडा अर्थमन्त्री नियुक्त, शीतल निवासमा शपथको तयारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी छन्।

२० फागुनमा राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपतिले मन्त्री नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले खतिवडालाई संविधानको धारा ७८ को उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्त गरेको जानकारी दिएका छन्।

संविधानको उक्त धारामा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

तर, यसरी नियुक्त मन्त्री पदमा निरन्तर रहनका लागि भने ६ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ।

नवनियुक्त मन्त्री खतिवडाको राष्ट्रपति कार्यालय शीतल निवासमा आजै अपरान्ह शपथ गराउने तयारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्