छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई खटाएको ठाउँमा जान स्वास्थ्य मन्त्रालयको ५ दिनको अल्टिमेटम

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई खटाइएको अस्पतालमा गएर काम गर्न पाँच दिनको म्याद दिएको छ।

जारी गर्दै करारनामा गरिएका ती चिकित्सकहरु पाँच दिन भित्र हाजिर नभए सरकारले गरेको लगानी असूल उपर गरिने मन्त्रालयले २१ फागुनमा सार्वजनिक सूचनामार्फत चेतावनी दिएको छ।

मन्त्रालयले त्रिवि चिकित्साशास्त अध्ययन संस्थान, महाराजगंज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी/एमएस/ एमडीएस/ डीएम र एमसीएचमा छात्रवृत्तिमा अध्ययन गरेकाहरूलाई तोकिएको स्थानमा गएर काम गर्न भनेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता सागर दाहालले देखापढीसँग भने, "छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकले पढाइ सकेपछि कामको करारनामा गर्नुपर्छ । तर, आफैँले गरेको कबुलियतनामालाई अटेर गरेर बस्ने प्रवृत्ति बढेकाले हामीले कारवाही शुरू गरेका हौं।"

चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को प्रावधान अनुसार त्यस्ता चिकित्सकले खटाएको सरकारी अस्पतालमा दुई वर्ष सेवा गर्छु भनी करारनामा गरेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस्