कोरोना प्रभाव : प्रतितोला ८० हजार ७ सय पुग्यो सुनको भाउ

काठमाडौं। केही दिनयता निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज पनि बढेको छ।

आज नेपाली बजारमा सुन प्रतितोला ८० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।

विश्वभर कोरोना महामारी फैलिएपछि लगानीकर्ताहरूले आफ्नो सम्पत्ति सुरक्षित गर्नका लागि सुनका लगानी बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा केही दिन यता सुनको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरूले बताएका छन्।

नेपाल सुन चाँदी व्यवसायी संघले आजको लागि नेपाली बजारमा हिजो, २१ फागुनको भन्दा सुनको मूल्य २०० रुपैयाँ बढाएको छ।

हिजो छापावाल सुन प्रतितोला ८० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। २१ फागुनमा प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य आज पनि उत्ति नै छ।

विश्वव्यापी रूपमै शेयर बजारमा गिरावट आउन थालेपछि त्रसित उद्योगी व्यवसायीहरूले सुनमा लगानी बढाइरहेका छन्।

शेयर मूल्य निरन्तर ओरालो लाग्दा विश्वकै धनाढ्यहरूको सम्पत्ति पनि क्रमशः घटिरहेको छ।

सुनमा गरिएको लगानी विश्वव्यापी रुपमा सुरक्षित मानिने हुनाले अर्थतन्त्रमा समस्या आउँदा धेरैजसोले सुनमा लगानी बढाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्